फलफूलको आयात उच्च, दुई महिनामा १ अर्ब बढीको स्याउ भित्रियो

काठमाडौं, १४ असोज । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको दुई महिनामा १ अर्ब बढीको स्याउ आयत भएको छ ।

चालू आवको साउन र भदौमा १ अर्ब २७ करोड ९७ लाख ६० हजार रुपैयाँको स्याउ आयात भएको हो ।

जसमा चीनबाट ९ हजार ६७४ टन बढी, भारतबाट ६ हजार ३७६ टन, टर्कीबाट २० टन स्याउ आयत भएको तथ्यांकमा उल्लेख छ । नेपाली बजारमा चिनियाँ स्याउको वर्चश्व देखिएको छ ।

दुई महिनामा भारतबाट ४१ करोड ४३ लाख ९९ हजार, चीनबाट ८६ करोड ३९ लाख ८२ हजार र टर्कीबाट भने १३ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ नेपाल भित्रिएको छ ।

नेपाली अर्गानिक स्याउको ब्राण्डिङको अभावमा विदेशी स्याउ आयात बढेको जानाकारहरुले बताएका छन् ।

फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ।

नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टताका कारण संसारको हरेक कुनामा उत्पादन गर्न सकिने फलफूलहरु नेपालमा उत्पादन गर्न सकिने भए पनि फलफूल उत्पादन वृद्धि हुन सकेको छैन।

सरकारले फलफूल विकासका लागि फलफूल विकास निर्देशनालय बनाए पनि अपेक्षित काम गर्न सकेको छैन। दीर्घकालिन कृषि योजनाले स्याउ, सुन्तलाजात लगायतका फलफूललाई उच्च मूल्यवान बालीको रुपमा लिए पनि परिणाम आउन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here