‘प्रतिस्थापन बजेटले निजी क्षेत्रको ढाड सेक्ने काम गर्‍यो, सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’

फाइलफोटो

वीरगञ्ज १७ असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेट निजी क्षेत्र मैत्री नभएको दाबी गरेका छन् ।

बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोश्रो साधारण सभामा ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरु निजी क्षेत्र मैत्री नरहेको दावी समेत गरेका हुन् ।

मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने बताए ।

ढकालले भने ‘सरकारले उक्त बजेटमार्फत् ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन बरु ढाड सेक्ने काम गरिरहेको छ ।’

पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौँ कन्टेनर बोर्डरमा अलपत्र परेका ढकालले बताए । सरकारले निजी क्षेत्रसँग जोडिएका कुनै पनि नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श गर्न पनि सरकारलाई आग्रह गरे ।

ढकालले भने ‘सरकारले बनाउने नीतिले दीर्घकालीन महत्व राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नुपर्छ, जसले देशको उद्योग व्यवसाय फस्टाउन सकोस् र निजी क्षेत्रको पनि हित गर्न सकोस ।’

सरकारले गर्नुपर्ने काममा समेत निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वमार्फत् योगदान गरिरहेकाले सरकारले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने ढकालको भनाई रहेको थियो ।

‘हरेक उद्योगी व्यवसायीले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सरकारले गर्नुपर्ने काममा सघाइरहेका छन् तर सरकारले भने यस क्षेत्रलाई प्रोत्साहनको सट्टा हतोत्साही बनाउने मात्र गरेको गुनासो देशव्यापी रुपमा व्यवसायीहरुको रहेको छ’ उनको भनाई थियो ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

मुलुकको कुल राजस्वमा महत्वपूर्ण योगदान पुर्याउने भएपनि वीरगञ्ज–पथलैया करिडोरका उद्योगका लागि आवश्यक सडक, ढल जस्ता न्यूनतम पूर्वाधारको विकासमा पनि राज्यले ध्यान नपुर्‍याएनु दुःखद रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले सरकारले वीरगञ्ज–पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता नदिँदा स्थानीयबासी र उद्योगीबीच सधैँ विवाद हुने गरेको जनाकारी दिए ।

मुलुकको राजस्व र रोजगारीमा यहाँका उद्योगले पुर्‍याएको योगदानालाई सरकारले कदर नगरेको लाठको भनाइ थियो । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर उद्योग वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वतःअध्यक्ष हुनेछन् भने बरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रकृया सुरु भएको जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here