भाडा बढाउन माग गर्दै यातायात व्यवसायीले रिङरोडमा तेर्स्याए गाडी

फाइलफोटो

काठमाडौं, १८ असोज । भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाडौंमा गाडीसहित विरोध प्रदर्शन गरेका छन् । चक्रपथमा गाडी रोकेर व्यवसायीले प्रदर्शन गरेका हुन् ।

आफैंले बढाएको भाडा लागु गर्नुपर्ने माग राख्दै व्यवसायीले रिङरोडमा गाडी होल्ड गरेर अवरोध गरेका छन् । गाडी सडकमा राखेर चाँबी भने व्यवसायीले नै लगेर गएका छन् ।

यातायात व्यवसायीले संघीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् । यसरी सवारी रोडमै होल्ड गरेर राखेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् भने काठमाडौं उपत्यकाका ट्राफिक अस्तव्यस्त बनेको छ ।

पुरानै दरमा भाडा उठाइरहनुपर्दा सवारीको सञ्चालन खर्च नउठ्ने अवस्था आएको महासंघले बताएको छ । असोज १५ गतेदेखि लागु हुनेगरी व्यवसायीले उपत्यकाभित्र २८ प्रतिशत भाडा बढाएका थिए ।

व्यवसायीले स्वघोषणा गरेर भाडा बढाएपछि ट्राफिक प्रहरीले कारवाही थालेको छ । अहिलेसम्म ५० भन्दा बढी सवारीलाई कारवाही गरिसकेको छ भने ३०० भन्दा बढी सवारीलाई जरिवाना काटेको छ । तर, व्यवसायीले जरिवानाका लागि कागजपत्र ट्राफिक प्रहरीलाई बुझाएका छैनन् ।

यसअघि गएको साउन ७ गते पनि उनीहरुले चक्रपथमा नै गाडी तेर्स्याएर विरोध प्रदर्शनसहित र्याली निकालेका थिए ।

त्यतिबेला उनीहरुले कोभिडविरुद्धको खोप, भाडा समायोजन, ४० वर्ष पुगेका गाडीको अवधि थप, यातायातको बीमा छुट, नवीकरण र जरिबाना छुट लगायतका माग राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here