विशेष आर्थिक क्षेत्र प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता

काठमाडौं, १८ असोज । विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच सहकार्य गर्नेबारे सम्झौता भएको छ।

निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा सञ्चालनका लागि दुईबीच सम्झौता भएको हो ।

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

औद्योगिक विकास प्रवद्र्धनका लागि भएको सम्झौता पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ मा केन्द्रित रहेको छ।

ती आर्थिक क्षेत्रको प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु सम्झौताको उद्देश्य रहेको उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here