‘निरन्तर घटिरहेको शेयर बजारप्रति सम्बन्धित क्षेत्र मौन रहँदा लगानीकर्ता झनै मर्माहित’

काठमाडौं, १८ असोज । नेपाल इन्भेष्टर्स फोरमले सरकार र नियामक निकायको अदूरदर्शी नीतिका कारण शेयर बजार निरन्तर घटिरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फोरमले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पुँजी बजारको इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम ८ खर्बभन्दा बढी गुमाइसक्दा पनि सरकार र नियामक निकायहरु मौन रहनुले ४४ लाखभन्दा बढी लगानीकर्ताहरु मर्माहित भएको जनाएको छ।

मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट रू. ४ करोड र तीन वटा बैंकबाट रू. १२ करोडको सीमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित पारेको आरोप फोरमले लगाएको छ ।

अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्तामा अर्थमन्त्रको मेरुदण्डका रुपमा रहेको सेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरु बेखबर रहनुले भनाइ र गराइमा फरक रहेको स्पष्ट देखिन्छ।’

जिम्मेवार निकायहरुको अदूरदर्शी नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानीयोग्य पुँजी तथा तरलताको अभाव खेपिरहेको पनि विज्ञप्तिमा जनाइएको छ।

साथै उसले यो व्यवस्थालाई तत्काल खारेज गरी बजारमा लगानीमैत्री वातावरण सृजना गर्न पनि नेपाल राष्ट्र बैंकसमक्ष भनेको छ । हालको कारोबारलाई हेदा ब्रोकर कमिशन अत्यन्तै महङ्गो भएकाले ब्रोकर कमिशनलाई पनि समय सापेक्ष अविलम्ब समायोजन गर्न फोरमले आग्रह गरेको छ ।

फोरमले यतिबेला पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समेत नेतृत्व विहिन हुँदा बजार सुधारका थप कार्य अघि बढाउन समस्या देखिएको बताएको छ ।

सरोकारवाला निकायहरुले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्त गरी बजार सुधारका लागि थप कार्य अघि बढाउन फोरमले माग गरेको छ ।

लामो समयदेखि नेपाल धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन रहेकोले तत्काल योग्य व्यक्तिलाई नियुक्ति गरी लगानीकर्ताको समस्या समाधान गर्न पनि फोरमले सरकारसमक्ष माग गरेको छ।