काठमाडौं, १९ असोज । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ३-२ गोल अन्तरले जित हासिल गरेको हो ।
नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष जलानले एक एक गोल गरेका हुन् । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो।
नेपाल २ खेल जितेर ६ अंकसहित पहिलो स्थानमा छ। बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहीन छन्।
लगातारको जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ। अब नेपालले अर्को खेल असोज २४ गते भारतविरुद्ध राती ९:४५ बजे खेल्ने छ भने लिग चरणको अन्तिम खेलमा नेपालले असोज २७ गते बंगलादेशविरुद्ध दिउँसो ४:४५ बजे खेल्ने छ ।