नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट

काठमाडौं, १९ असोज । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् ।

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको संख्यामा कमी आएको छ ।

यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरूको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए ।

‘कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,’ उनले भने । कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोंगबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

हाल नयाँ बसपार्कमा दैनिक १ हजारभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

काठमाडौंको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलंकीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको संख्या न्यून रहेको बताए । ‘निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या परेको छ,’ उनले भने ।

सरकारले यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दशैंको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here