३३ किलो सुनकाण्डमा ‘गोरे’ लाई जन्मकैदको सजाय

काठमाडौं, १९ असोज । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो। त्यस्तै गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको छ ।

राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।

दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते नेपाल ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले मोरङ उर्लाबारीका सनमको हत्या गरेको आरोप लागेको थियो ।

२०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै हत्या गरिएका उनको शव भोलिपल्ट विराटनगरबाट बरामद गरिएको थियो। सनम हत्याको अनुसन्धान गर्ने क्रममा गोरेको समूहले ठूलो परिणाममा सुन तस्करी गरिरहेको पत्ता लागेको हो।

प्रहरीले सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त गोरे रहेका बताएको छ। उनकै योजना र धनाड्य व्यापारीको लगानीमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा युएईको दुबईदेखि करिब ३८ क्विन्टल सुन तस्करी गरी नेपाल भित्र्याइएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन्।