मौद्रिक नीतिले शेयर बजार घटेको चेम्बरको टिप्पणी, सुधार गर्न १६ बुँदे सुझाव

काठमाडौं, १९ असोज । नेपाल चेम्बर अफ कमर्शले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ४ र १२ करोडको कर्जा सीमा तोकेका कारण शेयर बजार निरन्तर ‌ओरालो लागेको जनाएको छ।

चेम्बरले मंगलबार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले ल्याएको कर्जा सीमाको कारण लगानीकर्तामा चरम निराशा तथा हतोत्साहित मनस्थितिमा पुगेका जनाएको छ ।

चेम्बरका अनुसार दैनिक २०, २१ अर्बको कारोबार भएर ४२ खर्ब बढीको बजार पुँजीकरण भई नेप्से परिसुचक इन्डेक्स ३२१७ को हाराहारी पुगेको भएपनि हाल करिब ४ अर्बको कारोबार र इन्डेक्स ६५० अंकले झरेको र बजार पुँजीकरणमा आएको गिरावट सँगै लगानीकर्ताले अर्बौ रकम गुमेको चेम्बरको ठहर छ ।

चेम्बरले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बजारमा अनेक किसिमका विकृति देखा परेको र नीतिगत रुपमा संबोधन हुनुपर्ने विषय समेत अन्योलमा परेको जनाएको छ।

बजारमा हुने सामान्य उचारचढावलाई बजारको विशेषताकै रुपमा लिने भएपनि कुनै नीतिका कारण बजारमा अस्वाभाविक गिरावट आउने वा आउन सक्ने अवस्था देखिएमा त्यस उपर गहन रुपमा विष्लेषण गरेर मात्र नीति नियम ल्याउनु पर्ने चेम्बरको धारणा रहेको छ ।

चेम्बरको सुझाव यस्ता छन् ।

-नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सिमा नै मुख्य कारण रहेकोले उक्त सिमा पूर्ववत नै कायम गर्नु पर्ने र विद्यमान सीसीडी रेसियो हटाई सीडी रेसिया लागु गर्दा ३०० अर्व हाराहारी लगानी योग्य पूँजी उपयोग विहिन भएकाले माथिका दुबै व्यवस्था पूर्ववत कायम गरिनु पर्ने ।

-नेपाल स्टक एक्सचेञ्ज लि., तथा नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनुपर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भब उल्लेखित निकायहरुको विवाद समाधान गरि नया नेतृत्व ल्याइनु पर्ने ।

-नेपाल राष्ट्र बैंक, विमा समिती, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसंग पनि समन्वय गरि गरिनु पर्ने ।

-हाल संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोेले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पूँजी बजारमा लगानी गर्न खुल्ला गरिनु पर्ने ।

-अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको स्टक ब्रोकर मार्फत शेयर खरिदका लागि ब्रोकर कम्पनी मार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्य रुपमा लागु गरिनु पर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज शेयर खरिद कर्जा प्राप्त गर्न सक्ने ।

-संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याईनु पर्ने ।

-फ्युचर अप्सन, जस्ता डेरिभेटिभ प्रोडक्टहरु ल्याउने तथा इन्ट्रा डे कारोबारको सुरुवात गरिनु पर्ने ।

-ब्रोकर कम्पनीहरुलाई सब ब्रोकर, एजेन्ट नियुक्त गर्न दिने तथा शाखा विस्तार गरि देशका सवै तहबाट दोस्रो बजारमा लगानीकर्ताहरुको सहज सहभागिता हुने व्यवस्था गरिनु पर्ने ।

-नेपाल स्टक एक्सचेञ्जको स्तरोन्नती तथा नयाँ स्टक एक्सचेञ्जको व्यवस्था गरिनु पर्नेलगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here