पिएसजीमा बस्न चाहँदैनन् एम्बाप्पे, रियल मड्रिड जाने अडान कायमै

काठमाडौं । फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) छोडेर स्पेनिस क्लब रियल मड्रिड जाने आफ्नो अडान कायमै राखेका छन् ।

यसअघि मिडिया रिपोर्टहरूमा मात्र सीमित एम्बाप्पेको अडान अहिले भने उनी आफैँले सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेले आफूले पटक–पटक क्लबसँग पेरिस छोडेर स्पेन जाने बताउँदै आएपनि पिएसजीले अवरोध सिर्जना गरेको जनाएका छन् । रियल र आफू दुवै पक्ष सकारात्मक देखिए पनि पिएसजीले जान नदिएको बताउँदै उनले भनेका छन्, ‘यदि मैले यो समरमा क्लब छोड्न पाएको थिएँ भने रियल मड्रिड नै जाने थिएँ ।’

‘मेरो विचारमा मेरो यात्रा यहाँ सकिएको छ । म अरू केही नयाँ गर्न चाहन्छु । म ६ वा सात वर्षदेखि लिग वानमै छु । मैले पेरिसलाई सबैकुरा दिएको छु । अब यो ठाउँ छोड्न चाहन्छु’, उनले भनेका छन् ।

यस्तै, उनले लियोनल मेस्सी आए भन्दैमा पिएसजी छोड्ने आफ्नो योजना परिवर्तन नहुने बताए ।

मेस्सी उत्कृष्ट खेलाडी रहेको बताउँदै उनले भने, ‘मेस्सी उत्कृषट खेलाडी हुन् । तर उनी आए भन्दैमा पिएसजीमै बस्छु भन्ने छैन । पिएसजी छाड्ने मेरो योजनालाई म छाड्नेवाला छैन । मैले पिएसजी छोड्ने निर्णय गरिसकेको छु ।’

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here