पाँच हजार जनासम्मको अनुहार याद गर्न सक्छन् मानिस

काठमाडौं । मानिसले लगभग पाँच हजार जनासम्मको अनुहार याद गर्न सक्ने अध्ययनले पत्ता लगाएको छ ।

बेलायतको यार्क विश्वविद्यालयका शोधकर्ताहरूले आफ्नो प्रयोगमार्फत मानिसले कति जनासम्मको अनुहार समझन सक्छन् भन्ने पत्ता लगाएका हुन् ।

औसत मानव मस्तिष्कले कतिवटासम्म सञ्चारमाध्यममा देखेका र व्यक्तिगत जीवनमा देखेका अनुहार याद गर्न सक्षम छ भन्ने गणना गरेको यो पहिलो अध्ययन भएको दाबी गरिएको छ ।

अध्ययनका लागि सहभागीलाई एक घण्टामा ती मानिसको विद्यालय, कलेज, परिवारलगायत जीवनसँग जोडिएका नाम लेख्न भनियो । त्यसपछि प्रख्यात हस्ती, नेता, अभिनेता वा प्रसिद्ध व्यक्तिको नाम लेख्न लगाइयो ।

‘प्रोसेडिङ्स अफ द रोयल सोसाइटी बि’ पत्रिकामा प्रकाशित शोधका अनुसार मानिसले एक हजारदेखि १० हजारका बीचमा अनुहार चिन्न सक्छन् ।

अध्ययनमा १८ वर्षदेखि ६१ वर्षसम्मका २५ जना मानिसलाई समावेश गरिएको थियो । औसत व्यक्तिले लगभग पाँच हजार अनुहार सम्झन सक्षम हुने निष्कर्षमा रहेको छ ।

यार्क विश्वविद्यालयका रोव जेनकिन्सका अनुसार अध्ययनमा मानिसले कतिको अनुहार चिन्छन् भन्ने कुरामा केन्द्रित थियो, तर मानिसको मस्तिष्कले कतिको अनुहार चिन्न सक्छ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेको छैन । इन्डिपेन्डेन्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here