काठमाडौं, २० असोज । साताको चौंथो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.११ अंकमा पुगेको छ । यो मंगलबारको तुलनामा २.६२ प्रतिशत बढी हो ।
बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ यन्डेक्स पनि बढ्यो । आज इन्डेक्स १२.७६ अंकले बढेर ५०४.७४ अंकमा पुगेको छ ।
आज सबै समुहको सूचक बढ्यो । बुधबार सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । यस समुहको सूचक ५.८१ प्रतिशत बढ्यो । त्यस्तै, विकास बैंकको ४.८२ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३.९७ प्रतिशत बढ्यो ।
बुधबार कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । मंगलबार २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएकोमा आज २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज १६ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये अधिकांश लघुवित्त कम्पनी रहेका छन् ।
सबैभन्दा धेरै गुमाउनेमा रिडी हाइड्रोपावरका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य २.१६ प्रतिशत घट्यो ।
बुधबार सबैभन्दा धेरै कारोबार सिटिजन बैंकले गर्यो । बैंकले २३ करोड रुपैयाँको कारोबार गर्यो ।