शुरु भयो बडा दशैं, घटस्थापनाको शुभ साइत ११ बजेर ४६ मिनेटमा

काठमाडौं,२१ असोज । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व बडा दशैं आजदेखि शुरु भएको छ । नेपालसहित विश्वका अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व निकै हर्षोउल्लाससहित मनाउँछन् ।

आज प्रतिपदाका दिन घटस्थापनाको नामबाट पनि चिनिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडा दशैं पर्छ । घरबाट टाढा टाढा रहेका मानस आफन्तको साथमा आइपुग्छन् ।

दशमीको दिन ठूलाबडा मान्यजनको हातबाट टिका लगाउँछन् र आर्शिवाद लिन्छन् । मिठो खाने र राम्रो लगाउने चाडका रुपमा पनि दशैंको महिमा रहेको छ ।

बडादशैंको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन रहेको छ ।

नेपाल पंचांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान बिहान ११ः४६ बजे मा रहेको छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा र दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राख्ने प्रचलन रहेको छ । यो जमरा टिकाको दिन शिरमा लगाइन्छ ।

जौको अंकुर दुर्गा भगवतीको प्रिय वस्तु मानिन्छ । यसलाई समृद्धिको प्रतिक समेत मानिन्छ । आजदेखी हरेक दिन भगवतीको पूजा आरधना शुरु हुन्छ ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए ।

असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबारफूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ ।

मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ ।

तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ ।

टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।

तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here