काठमाडौं, २२ असोज । जुत्ता–चप्पल बनाउन चाहिने केही कच्चा पदार्थ नेपालमै उत्पादन भएपनि मूलुक आत्मनिर्भर भने हुन सकेको छैन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार ६५ प्रतिशत स्वदेशी उत्पादन र बाँकी आयातित जुत्ताले बजारको माग धान्ने गरेको छ ।
वार्षिक ३० अर्ब रुपैयाँ बराबरको जुत्ता चप्पलको कारोबार हुने गरेको छ ।
जसमा १८ अर्ब रुपैयाँ स्वदेशी र १२ अर्बको आयातित जुत्ताले बजार ओगट्ने गरेको छ । गएको दुई महिनामा १ अर्बभन्दा धेरै मूल्यको जुत्ता आयात भएको छ ।
तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको थियो । चाडपर्व सुरु भएसँगै जुत्ता चप्पलको माग बढेको व्यवसायीहरु बताउँछन्। आयात भएको मध्ये १५ प्रतिशत भारत, १५ प्रतिशत चीन र ५ प्रतिशत अन्य मुलुकबाट हुने गर्छ ।
हाल नेपालमा साना ठूला गरेर १५ हजार जुत्ता चप्पल उद्योग सञ्चालनमा छन् भने जसमा न्यूनतम १०० रुपैयाँदेखि १० हजारसम्मका जुत्ता बिक्री भइरहेका छन् ।
तथ्यांकअनुसार नेपालदेखि जुत्ताको निर्यात बढ्दै गएको देखिन्छ । बिशेषगरि नेपालदेखि भारत, अमेरिका, भुटान, जापान, कतार, स्वीजरल्यान्ड, अष्ट्रेलिया लगायतका मुलुकमा तयारी जुत्ताहरु निर्यात हुने गर्छन् । गोल्डस्टारको सबैभन्दा ठूलो बजार भारत हो ।
नेपाली गोल्डस्टारले भारतमा ठूलो परिमाण जुत्ता निर्यात गर्दै आएको थियो तर पछिल्लो समय भारत सरकारले लगाएको गुड्स एन्ड सर्भिस टयाक्स (जीएसटी)का कारण पनि निर्यात बढ्न नसकेको व्यवसायी बताउँछन् ।