वित्तीय पहुँच बढ्यो, जनसंख्याभन्दा २३ प्रतिशत बढी बैंक खाता

काठमाडौं, १ कात्तिक । नेपालमा वित्तीय पहुँच तीव्र गतिमा बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौसम्मको तथ्यांकअनुसार नेपालका बैंक तथा वित्तीय संस्थामा ३ करोड ७७ लाख ७० हजार ९८५ वटा खाता खोलिएको छ।

यो संख्या जनसंख्याभन्दा २३.८४ प्रतिशत बढी हो। तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ४ लाख ९८ हजार ४९४ रहेको छ ।

कुल खातामध्ये वाणिज्य बैंकहरुमा मात्र ३ करोड २९ लाख २७ हजार ६२२ छन्। यो संख्या नेपालको जनसंख्याभन्दा २४ लाख २९ हजार १२८ ले बढी हो।

त्यस्तै, विकास बैंकमा ४३ लाख ३२ हजार ३७४ वटा खाता खोलिएको छ भने फाइनान्स कम्पनीमा ५ लाख १० हजार ९८९ वटा निक्षेप खाता खोलिएको छ। राष्ट्र बैंकका अनुसार कर्जा खाताको संख्या भने १७ लाख २ हजार १९५ छ।

देशभर अहिले ६२ वटा बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्। सरकारले प्रत्येक नागरिकको बैंक खाता अनिवार्य हुनुपर्ने अभियान चलाएपछि बैंक खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकले बताएको छ।

२०७७ जेठ मसान्तसम्ममा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेको थियो ।

२०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो ।

कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेको थियो ।