देशैभर वर्षा, महाकाली र कर्णाली नदीमा खतराको तह नाघ्यो

काठमाडौं, २ कात्तिक । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको हो ।

लगातार परेको पानीले महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढी आएको छ ।

निरन्तर भइरहेको वर्षाका कारण कर्णाली‚ तिला‚ पश्चिम सेती नदीमा पानीले खतराको सतह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ७ बजे कैलालीस्थित चिसापानी जलमापन केन्द्रमा कर्णाली नदीले सतर्कता तह पार गरेको छ।

केन्द्रले कर्णाली नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहेकाहरुलाई मंगलबार रातिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो । महाशाखाको मौसमी बुलेटिनअनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।

प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थानहरु र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदी अन्तर्गत पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, प्युठान, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मी र म्याग्दीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ । भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै, देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here