बेमौसमी वर्षाले ३६ जनाको मृत्यु, ५ सय परिवार विस्थापित, धान खेतीमा ठूलो क्षति

काठमाडौं, ३ कात्तिक । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर ३६ जनाको ज्यान गएको छ ।

आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको हो । बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

बाढीपहिरोमा परी देशभरका ३२ जना बेपत्ता रहेका छन् भने १७ जना घाइते भएका छन्। वर्षाका कासण ५ सय जना भन्दा बढी परिवार विस्थापित बनेका छन्।

वर्षाका कारण डोटी, बैतडी, कैलाली, कञ्चनपुरमा ठुला तथा साना बाढी र पहिरोले मानवीय क्षति गरेको थियो। बाढी पहिरोबाट सुदूरपश्चिममा हालसम्म १० जनाको मृत्यु भएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ।

मंगलवारबाट वर्षा पूर्वतर्फ सरेको छ। जसका कारण प्रदेश १ मा वर्षा र बाढीले वितण्डा मच्चाएको छ। यसैगरी भित्र्याउन ठीक्क पारेको धान खेतीमा समेत ठूलो क्षति पुगेको छ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कर्यालाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए। अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here