कोरोना ‘जैविक हतियार’ नभएको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

१३ कात्तिक, काठमाडौं । अमेरिकी गुप्तचार निकायहरुले कोरोना भाइरस जैविक हतियार नभएको निष्कर्ष निकालेका छन् । बीबीसीले लेखे अनुसार यद्दपी भाइरसको उत्पत्तिको पहिचान गर्ने काम समेत कठिन बन्दै गएको उनीहरुको भनाई छ । बीबीसीका अनुसार कोरोना उत्पत्तिको पहिचान अब कहिल्यै नहुन पनि सक्ने छ ।

अफिस अफ द यूएस डाइरेक्टर अफ न्याश्नल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ। तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाणहरू नभएको विवरणमा उल्लेख गरिएको छ ।

गत अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९० दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन्। समीक्षामा गुप्तचर समुदाय भाइरसको उत्पत्तिका सम्बन्धमा विभाजित रहेको पनि उल्लेख छ। चार गुप्तचर निकायले यो सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकोमा कम विश्वस्त रहेको बताएका छन् ।

एउटा निकायले पहिलो मानव सङ्क्रमण प्रयोगशालामा भएको दुर्घटनाबाट भएको हुन सक्नेमा हल्का विश्वस्त रहेको बताएको समेत बीबीसीले लेखेको छ । सो दुर्घटना वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षण वा जनावरको परीक्षणको बेला घटेको हुनसक्ने अनुमान सो निकायले गरेको छ।

प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड १९ को सङ्क्रमणअगाडि चिनियाँ अधिकारीहरूलाई कोरोनाभाइरसबारे जानकारी नभएको बताइएको छ। प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्‍याएको पनि उल्लेख छ ।

चिनियाँ अधिकारीहरूले कोभिडको सङ्क्रमणलाई वुहानको समुद्री खाद्य बजारसँग जोड्ने गरेका छन् जसका कारण वैज्ञानिकहरू कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताइएको छ । कोरोना भाइरसको संक्रमणबाट ५० लाख भन्दा बढीले ज्यान गुमाउनु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here