चीनसँगका नाका बेकामका सावित, तीन महिनामा निर्यात शून्य –आयात न्यून

काठमाडौं, १४ कात्तिक । चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीबाट नेपालले गर्ने निर्यात शून्य छ । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो तीन महिनामा नेपालले ती नाकाबाट कुनै पनि वस्तु निर्यात गर्न सकेन भने आयात पनि नगण्य छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले तातोपानीबाट २ अर्ब ४१ करोड रुपैयाँ र रसुवागढीबाट ७ अर्ब ४६ करोडको वस्तु आयात गरेको छ भने निर्यात शून्य छ ।

आयात मात्र हेर्ने हो भने पनि नेपालको तीन महिनाको कुल आयात रु. ४ खर्ब ७८ अर्ब ५२ करोडमा रसुवागढी र तातोपानीबाट भएको करीब पौने १० अर्बको वस्तु आयात ज्यादै नगण्य हो ।

कोरोनाभाइरस महामारीसँगै नेपालतर्फका नाका बन्द गरेको चीनले ति प्रवेशविन्दुको पुनः सञ्चालनलाई प्राथमिकता दिएको छैन । महामारीको नाममा झञ्झट सिर्जना गरेको चीनले नेपालतर्फको आयात सहजीकरणलाई समेत प्राथमिकता नदिंदा व्यापारीहरुले सास्ती ब्यहोर्नु परेको थियो ।

विगत दुई वर्षमा चीनतर्फका नाकाबाट व्यापार सहज नभएको व्यवसायीहरुको भनाइ छ । गत वर्ष रसुवागढीबाट ५८ करोड रुपैयाँ र तातोपानीबाट १३ करोड रुपैयाँको वस्तु नेपालबाट चीनतर्फ निर्यात भएको थियो ।

चालु आवको पहिलो त्रैमासमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी रु. १ खर्ब ६६ अर्ब ४६ करोडको आयात भएको छ भने बिराटनगर र भैरहवाबाट क्रमशः रु. ५८ अर्ब ४१ करोड र रु. ७८ अर्ब २७ करोडको आयात भएको छ ।

त्यसै गरी त्रिभुवन विमानस्थल भन्सारबाट ५८ अर्ब २८ करोडको आयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here