स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति मनाङ जाँदै

तस्वीर स्रोत : गोरखापत्र

१५ कात्तिक, काठमाडौं । पछिल्लो समय राष्ट्रपति विद्यादेवि भण्डारीले देश दौडाहा बढाएकी छिन् । आइतबार दिनभर लुम्बिनीमा व्यस्त राष्ट्रपति सोमबार मनाङ जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले स्याउ फार्मको स्थलगत अनुगमन गर्नेछिन् ।

साथै गत वर्षायामा बाढी र पहिराले क्षतिग्रस्त भएको स्थानको समेत राष्ट्रपतिबाट अवलोकन हुने भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट सेनाको हेलिकोप्टरमार्फत मनाङ पुग्ने कार्यक्रम छ । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नेछिन् । आज राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो ।

यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ । गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो ।

उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको राससले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here