१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख शेयर कर्जाको सीमाले शेयर बजारमा असर परेको सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारीले अन्ततः मुख खोलेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ४ र १२ करोडको शेयर कर्जाको सीमाले साना लगानीकर्तालाई कुनै असर नगर्ने बताए । नेपाल राष्ट्र बैंकले शेयर बजारको नियमन नगर्ने भन्दै उनले बैंक तथा वित्तीय संस्थाका लागि नीति आएको बताए ।
शेयर बजार निकै संवेदनशिल रहेको भन्दै सोहीकारण ७० प्रतिशतको धितोको सीमा भने नचलाइएको बताए ।
१ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लिएर शेयरमा लगानी गर्ने लगानी कर्ताको संख्या सानो रहेको भन्दै ठूलो पूँजि थोरै व्यक्तिका हातमा नपुगोस भनेर सो नीति ल्याएको बताए । साना लगानीकर्तालाई सहज कर्जा उपलब्ध गराउन के गर्न सकिन्छ भन्नेबारे समेत अध्ययन भइरहेको उनको भनाई छ ।