नेपालको विद्युत व्यापार अब नयाँ चरणमा, भारतमा निर्यातको बाटो खुल्यो

१६ कात्तिक, काठमाडौं । नेपालको विद्युत व्यापार अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपालबाट भारतमा प्रतिस्पर्धी मूल्यमा बिजुली निर्यातको बाटो खुलेसँगै नेपालको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको उर्जा मन्त्री पम्फा भुसालले बताएकी छिन् ।

राससले जनाए अनुसार भारतको विद्युत् मन्त्रालयले सहमति दिएसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बेच्न अनुमति दिइएको हो । दुई विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बेच्नका लागि अनुमति दिइएको छ ।

प्राधिकरणले आज मङ्गलवार राति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । अहिले यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ । नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ ।

प्राधिकरणले गएको वैशाख १७ गतेदेखि आवश्यक परेको बेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा बिजुली आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको जानकारी दिइन ।

उनका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here