१ लाख २९ हजारले लिए सहुलियत कर्जा, यी हुन् एक करोड भन्दा धेरै लिने ऋणी

काठमाडौं, २३ कात्तिक । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार असोजसम्ममा कुल १ लाख २९ हजार ६ सय ८० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

जसको लागि हालसम्म २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।

२०७७ असार मसान्तसम्ममा ३२ हजार ४ सय ४८ जनाले सहुलियत कर्जा लिएका थिए । यो संख्या अघिल्लो वर्ष(२०७६) को असार मसान्त सम्ममा १८ हजार २ सय ९५ रहेको थियो ।

गत आर्थिक वर्ष (२०७७/७८) वर्षको १२ महिनाको अवधिमा मात्रै थप ७१ हजार ६६१ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

जसमध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रवाह भएको छ ।

सरकारले असोज मसान्तसम्म यस्तो प्रकृतिको कर्जामा कुल ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रूपैयाँ ब्याज अनुदान प्रदान गरेको छ ।

सस्तो कर्जा १ करोडभन्दा धेरै लिने ऋणीको संख्या झण्डै १ हजार ९ सय पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुले अनिवार्य सहुलियतपूर्ण कर्जा लगानी गर्नै पर्ने व्यवस्था गरेपछि यस्तो कर्जा लिनेको संख्या बढ्दै गएको हो ।

राष्ट्र बैंकले संख्या नै तोकेर अनिवार्य कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि पहिलाकोभन्दा सहजै ऋण पाउने अवस्था सृजना हुँदा यस्तो ऋण लिनेको संख्या ह्वात्तै बढेको हो ।

सहजै सहुलियतपूर्ण कर्जा नपाएको गुनासो बढेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुले एक आर्थिक वर्षम न्यूनतम ५०० वटा वा प्रतिशाखा १० जना र विकास बैंकहरूले कम्तीमा ३०० वा न्यूनतम प्रतिशाखा ५ जनालाई सहुलियत कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?

सरकारले ब्याज अनुदान सहित विभिन्न १० शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

एक करोड रुपैयाँ भन्दा धेरै कर्जा लिने ऋणीको सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here