विवाहको लगन नजिकिँदा किन बढ्यो सुनको भाउ ?

काठमाडौं, २५ कात्तिक । विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । पछिल्लो ४ दिनयता सुनको भाउ तोलाको ३ हजार रुपैयाँले बढेको हो ।

सुन सबैभन्दा बढी विक्री हुने मंसिर महिना आउन केही दिन मात्र बाँकी हुँदा यसको भाउ भने ह्वात्तै बढेको छ ।

बिहीवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । जुन विगत पाँच महिनायताकै सबैभन्दा बढी हो ।

किन बढ्यो सुनको भाउ

सुनको भाउ अन्तराष्ट्रिय बजारमा ४० डलर रुपैयाँले बढेको छ । अन्तरराष्ट्रिय बजारमा पहेलो धातुको भाउ बढ्दा यसको प्रभाव नेपाली बजारमा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणीकरत्न शाक्यले क्लाउड पत्रिकालाई जानकारी दिए ।

अन्तरराष्ट्रिय बजारमा डलरको भाउ बढेकोले सुनको भाउमा पनि बृद्धी भएको हो । त्यस्तै अमेरिकामा उपभोक्ता मूल्य बढ्दा त्यसको प्रभाव पहेलो धातुमा परेको हो । अमेरिकी उपभोक्ता मूल्य ६ दशमलव २ प्रतिशतले बढेको हो ।

सुनचाँदी व्यवसायीका लागि मंसिर सबैभन्दा बढी व्यापार हुने सिजन हो । मंसिर अर्थात विवाहको सिजनमा दैनिक ४० देखि ४५ केजी सम्म सुन विक्री हुने गरेको अध्यक्ष शाक्यले जानकारी दिए ।

अन्य समयमा दैनिक २० देखि २५ केजीसम्म मात्र सुनको विक्री हुने गरेको छ । तिज तथा तिहारमा पनी सुनको माग बढी हुन्छ ।

यसपटकको तिहारको धन्तेरसका दिन मात्र ५० केजी बराबरको सुनको विक्री भएको उनले जानकारी दिए । त्यस्तै तिहारमा दैनिक ४० केजी सुन विक्री भएको उनले बताए ।

सुनको कोटा २० केजी मात्र भएकोले माग धान्न नसकिएको अध्यक्षको गुनासो छ । ‘सिजनमा सुनको माग ४० देखि ४५ केजीसम्म हुन्छ, आयातको कोटा नबढाए त माग धान्नै सकिदैन, हामी राष्ट्र बैंकमा कोटा बढाउनका लागी जाने तयारीमा छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here