एक सातामै घट्यो ९ अर्ब निक्षेप, बैंकरहरू पर्ख र हेरको अवस्थामा

काठमाडौं, २५ कात्तिक । एक सातामै वाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्बले घटेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी भने बढेको छ ।

तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै २७ वाणिज्य बैंकहरुबाट ३१ अर्ब निक्षेप घटेको छ ।

असोज मसान्तसम्म यी बैंकहरुमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४२ खर्ब ३८ अर्बमा झरेको छ ।

कात्तिक १२ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यो साता भने अघिल्लो साताको तुलनामा ९ अर्बले घटेको हो ।

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ । बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।

कात्तिक १२ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकबाट निक्षेप बाहिरिने र कर्जा भने थप प्रबाह भइरहँदा अबका दिनमा बैंकहरुको नयाँ कर्जा दिनसक्ने क्षमता एकदमै न्यून रहेको छ ।

नेपाल राष्ट्र बैंकको प्रवधान अनुसार बैंकको सीडी रेसियो ९० प्रतिशत हुनुपर्छ । तर अहिलेनै बैंकको सीडी रेसियो ८९.८७ प्रतिशत पुगिसकेको छ ।

यस्तो अवस्थामा राष्ट्र बैंकले कस्तो कदम चाल्छ बैंकरहरू पर्ख र हेरको अवस्थामा रहेका छन् ।

निक्षेपलाई आकर्षित गर्न मंसिरदेखि लागू हुनेगरी मुद्दतीमा केही ब्याजदर बढाउने बैंकहरुले तयारी गरिरहेका छन् ।

निक्षेप घट्न थालेपछि कात्तिकको व्याजदरमा बढाबढ गरेर बैंकले ११ प्रतिशतसम्म पुर्‍याएका थिए ।

तर, राष्ट्र बैंकले हस्तक्षेप गरेपछि निक्षेपमा बैंकको व्याजदर अधिकतम ९.३६ प्रतिशत मात्रै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here