सामाजिक सुरक्षा कोषमा ९ अर्ब ८८ करोड संकलन, ४४ करोड दाबी भुक्तानी

काठमाडौं, २५ कात्तिक । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी बापत ४४ करोड भुक्तानी गरेको छ ।

विभिन्न चार योजनाअन्तर्गत ९ हजार ९०२ योगदानकर्तालाई ४४ करोड ४५ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । यो तथ्यांक कात्तिक २४ गतेसम्मको हो ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । ६ हजार ४८५ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ७ करोड ४१ लाख ६५ हजार ३५८ रुपैयाँ भुक्तानी भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट २२४ लाभग्राहीलाई ५९ लाख १२ हजार ९७८ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट ९२६ लाभग्राहीलाई १ करोड ६ लाख ६० हजार ५०४ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनाबाट ५४९५ लाभग्राहीलाई ३५ करोड ३८ लाख ४६ हजार ५६६ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही अवधिसम्ममा कोषमा रु ९ अर्ब ८८ करोड योगदान संकलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केही योजनाको परिमार्जन गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।

सूचीकृत योगदानकर्ताले कोषबाट विशेष सापटी, शैक्षिक कर्जा, आवाश कर्जालगायत सुविधा पाउनेछन् ।

सरकारले २०७४ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । उक्त योजना २०७६ साउनदेखि कार्यान्वयनमा आएको छ । कोषले सबै क्षेत्रका श्रमिकलाई आबद्ध गराउन सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दुई पटक संशोधन गरेर योगदानकर्तामैत्री बनाउँदै लगेको छ ।

कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८।३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था मिलाएको छ ।

आगामी असार मसान्तभित्र योगदान शुरु गर्ने योगदानकर्ताले चाहेमा निवृत्तिभरणअन्तर्गत हुन आउने २० प्रतिशत रकम अवकाश सुविधा योजना हस्तान्तरण गर्न सक्ने गरी कार्यविधि संशोधन गरिएको छ ।

अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा ८० प्रतिशतसम्म विशेष सापटीका रुपमा योगदानकर्ताले लिन सक्नेछन् ।

कोषले सूचीकृत हुन बाँकी सम्पूर्ण निजी तथा सङ्गठित संस्थालाई सूचीकरण गरी सामाजिक सुरक्षा योजना सञ्चालन कार्याविधि, २०७५ को दोस्रो संशोधनले दिएका सुविधा उपयोग गर्न आह्वानसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here