निफ्राको प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं, २८ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३४.३७ प्रतिशतले बढेको हो ।

बैंकले चालू आवको असोज मसान्तसम्म २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६ करोड १९ लाख बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख २२ रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएसँगै खुद नाफामा पनि बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशतले बढेर ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा ३४.२० प्रतिशत बढेर ३४ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६४ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १९ करोड ६ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म बैंकले २९ करोड ८१ लाख निक्षेप संकलन गरी ४ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट घटेर ४.८४ रुपैयाँमा सीमित भएको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १३३.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.३७ गुणा र खराब कर्जा शून्य प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here