भरतपुरमा हुँदैछ १० हजार विद्यार्थी पढाउने मेगा विद्यालयको संभाव्यता अध्ययन

चितवन, १४ असार । भरतपुर महानगरपालिका भित्र मेगा विद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन थालिने भएको छ । महानगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुने गरी न्यूनतम १० हजार विद्यार्थीसहितको विशिष्टिकृत मेगा विद्यालयको सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

महानगरको चौंथो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा मेगा विद्यालयलाई प्राथमिकता साथ समावेश गरी यसका लागि नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गर्ने उल्लेख छ । महानगरको शिक्षा, योजना, नीति तथा कार्यक्रम बनाउन गठित उपसमितिका संयोजक शिक्षाविद् रमाकान्त सापकोटाका अनुसार ठाउँ÷ठाउँमा साना–साना विद्यालयको सट्टामा एकै ठाउँमा ठूलो विद्यालय बनाउन सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

दुर्गम र विकट क्षेत्रमा रहेका बालबालिकालाई समेत ल्याएर आवासीय रुपमा एकै ठाउँमा पढाउन सकिने छ । यस्तो विद्यालयमा अधिकतम सूचना प्रविधिको प्रयोग गरिने बताउँदै उनले भने, ‘बालबालिकाले चलचित्र हेरे झै स्क्रिनमा हेरेर पढ्नेछन् ।’ विषय शिक्षक नचाहिने भएकाले एकजना प्राविधिकले सबै विषय पढाउनसक्ने गरी अत्याधुनिक विद्यालयको परिकल्पना गरिएको उनले बताए ।

पछिल्लो समय विद्यार्थीलाई बोझ हुनेगरी पठनपाठन गर्ने गरिएको भन्ने गुनासो चलिरहेका बेला महानगरले ठूलो आधुनिक विद्यालयको परिकल्पना गरेको हो । सापकोटाका अनुसार भरतपुरको फराकिलो ठाउँ खोजेर मेगा विद्यालय बनाउने गरी अध्ययन थालिने छ ।

महानगर प्रमुख रेनु दाहालले काठमाडौँको बूढानीलकण्ठ जस्तै अत्याधुनिक विद्यालय निर्माणका लागि अध्ययन शुरु गर्न लागिएको बताइन् । साना–साना विद्यालयमा गरिने ठूलो खर्चलाई एकै ठाउँमा गरेर उच्चस्तरको आवासीय शिक्षा दिन खोजिएको उनको भनाइ छ ।

नेपालमा नै नमूना हुने गरी उच्चतम सूचना प्रविधिको प्रयोग गरेर विशिष्टिकृत मेगा विद्यालय सञ्चालन गर्न लागिएको दाहालले जानकारी दिइन् । जिल्लामा रहेका केही बाहेक अधिकांश सामुदायिक विद्यालयको गुणस्तर खस्किरहेका बेला महानगरले शिक्षामा विशेष जोड दिँदै मेगा विद्यालयको अवधारणा अघि सारेको हो । महानगरमा १ सय २३ विद्यालयमा ८५ हजार हाराहारी विद्यार्थी अध्ययनरत छन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here