नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोनको संक्रमित भेटिए

काठमाडौं, २० मंसिर । नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ओमिक्रोनको दुई जना संक्रमित भेटिएका हुन् ।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको मन्त्रालयलले पत्रकार सम्मेलन गरेर जानाकारी दिएको हो ।

उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो। उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ ।

उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनु अनुरोध गरेको छ ।

हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ । आजसम्म ५७४ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here