१२ दिनमा ५७ देशमा पुग्यो ‘ओमिक्रोन’, कोभिड-१९ विरुद्धका खोप कति प्रभावकारी ?

काठमाडौं, २२ मंसिर । पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको ५७ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

यससँगै अस्पताल भर्ना गर्नुपर्ने विरामीको संख्या बढेको जानकारी दिएको छ ।

डब्लुएचओले साप्ताहिक इपीडेमीओलोजिकल रिपोर्टमा ओमिक्रोन भेरियन्टको कारणले हुनसक्ने रोगको गम्भीरता र यसको उत्परिवर्तनले भ्याक्सिनले उत्पन्न गरेको रोग प्रतिरोधात्मक क्षमता कम गर्ने बारे अध्ययन गर्न पर्ने समेत बताएको छ ।

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम खतरनाक मानिएपनि यसबाट अस्पताल भर्ना हुनेको संख्यामा भने बृद्धि हुने प्रक्षेपण गरिएको छ ।

नोभेम्बर २६ मा डब्लुएचओले ओमिक्रोन भेरियन्ट बारे खुलासा गरेको थियो । जुन पहिलोपटक दक्षिण अमेरिकामा पत्ता लागेको थियो । दक्षिण अफ्रिकामा कोभिड १९ दोब्बरले बढेको पाइएकोे छ । त्यस्तै जिम्बावे, नामिविया, लेसोथोलगायतमा यसको केश बढेको छ ।

हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

यसअघिका अन्य भेरियन्टभन्दा बढी संक्रामक कतिसम्म घातक छ र अहिले प्रयोगमा रहेका खोपहरूले यो भेरियन्टलाई प्रतिरोध गर्न सक्छ या सक्दैन भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिले पनि अनुसन्धान गरिरहेको छ ।

तर डब्लूएचओका अधिकारीका अनुसार हाल कोरोनाभाइरसविरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरियन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका छन् ।

दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा फाइजर खोपले ओमिक्रोलाई आंशिक रूपमा छल्न सक्ने देखिएको डब्ल्यूएचओले बताएको हो ।

विश्व स्वास्थ्य संगठनका चिकित्सक डा माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरियन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडीलाई छल्न सक्ने क्षमता छ ।

‘हामीसँग उच्च क्षमता भएका खोपहरु छन् । ती सबैले हरेक प्रकारका भेरिएन्टविरुद्ध काम गर्छन् र जटिलता तथा अस्पताल भर्ना हुनबाट जोगाउन सक्षम छन्,’ उनले भने, ‘त्यसैले ओमिक्रोनविरुद्ध यसले काम गर्दैन भनेर सोच्न जरुरी छैन ।’

प्रारम्भिक तथ्यांकअनुसार ओमिक्रोनलले डेल्टा वा अन्य भेरियन्टभन्दा धेरै गम्भीर बनाउँछ भन्ने देखिएको छैन ।

यद्यपि दक्षिण अफ्रिकामा गरिएको एक नयाँ अध्ययनअनुसार फाइजर खोप कोरोनाभाइरसको सुरुको स्ट्रेनभन्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी रहेको दाबी गरिएको छ । तर, यो अध्ययनको समीक्षा हुन भने बाँकी नै छ ।

‘ओमिक्रोनले सम्पूर्ण रुपमा शरीर खोपका कारण विकसित भएको प्रतिरोधात्मक क्षमतालाई छल्न भने नसक्ने देखिएको छ,’ अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरोलोजिस्ट प्रा एलेक्स सिगलले भने, ‘हामीले १२ जनाको रगत परीक्षण गरेर हेर्दा ओमिक्रोनले सोचेजस्तो प्रभाव पारेको देखिएन ।’

उनका अनुसार पूर्व संक्रमण तथा खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने अपेक्षा गर्न सकिन्छ । त्यसमाथि बुस्टर डोज लगाएमा थप सुरक्षा प्राप्त हुने उनको दाबी छ ।

ओमिक्रोनविरुद्ध फाइजरलगायत अन्य खोप कति प्रभावकारी हुन्छ भन्ने तथ्यांक आगामी केही दिनमा सार्वजनिक हुने अपेक्षा राखिएको छ । हाल मोडर्ना, जोनसन एण्ड जोनसन वा अन्य खोपले कस्तो कार्य गर्छ भन्ने अध्ययन भइसकेको छैन । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here