अधिकांश स्थानमा दिनभर पानी पर्ने, बिहीवारदेखि मौसममा सुधार

फाइलफोटो

काठमाडौं, १४ पुस । काठमाडौँ उपत्यकामा देशका अधिकांश भूभागमा बिहानैदेखि पानी परेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आजदिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आइतबार भित्रिएको सो प्रणालीका कारण सोमबारदेखि देशभर नै तापक्रम घट्दो क्रममा रहेको थियो। बिहीबार दिउँसोदेखि भने मौसममा हल्का सुधार आउने महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

पुस १५ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

पुस १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here