पाँचौं चेम्बर एक्स्पो फागुनमा, युरोपेली मुलुकका व्यावसायी पनि सहभागि हुने

काठमाडौं, १९ असार । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा पाँचौ ‘नेपाल चेम्बर एक्स्पो २०२०’ हुने भएको छ ।

चेम्बरले बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पोको बारेमा जानकारी दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा हुन लागेको मेलाले अन्तराष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउने लक्ष्य लिएको छ ।

आगामी फागुन १३ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा नेपाल सहित विभिन्न राष्ट्रहरुको २ सय ५० भन्दा धेरै स्टलहरु रहने छन् ।

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । ‘झण्डै आधादर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ ।

यसले हामीलाई व्यापार प्रवद्र्धन मात्रनभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं’ श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । एक्पोको अन्तराष्ट्रिय पार्टनर राष्ट्रको रुपमा भने थाइल्याण्ड रहेको छ ।

मेलाले उद्योग र उद्योगजन्य सामाग्रीहरुको प्रवद्र्धनमा जोड दिने उनले बताए । इटाली, जापान, चीन जस्ता औधोगिक क्रान्ति गरीसकेका राष्ट्रहरुले पनि मेलालाई विशेष महत्वका साथ हेरेको उनको भनाई थियो ।

व्यापार घाटालाई कम गर्दै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ उन्मुख गर्नको लागि यस्तो कार्यक्रमहरुको विशेष महत्व हुने उनले बताए ।

पछिल्ला सबै एक्स्पोहरु सफलता पुर्वक सम्पन्न भएको अवगत गराउदै एक्स्पोको पाँचौं संस्करणले व्यापारिक अन्तक्रिया, आयात—निर्यातको सूचना आदान—प्रदान तथा नेपाली उत्पादनहरुलाई बजारिकरण गर्नमा विशेष जोड दिने चेम्बरले जानकारी दिएको छ ।

मेलामा कृषि उत्पादन, अटोमोबाइल्स, किताब, कस्मेटिक सामग्री, पर्यटकीय क्षेत्र, जलविद्युतका क्षेत्र तथा उद्योग र उद्योगजन्य सामग्री र मेसिनका पार्टस आर्कषणको रुपमा हुने आयोजकले बताएको छ ।

अघिल्लो वर्ष ८० हजारले अवलोकन गरेको मेलामा यो वर्ष १ लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखेको संयोजक चाकुबाजीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here