राष्ट्र बैंकले भन्यो ‘छोटो अवधिमै उच्च प्रतिफलको लोभले क्रिप्टोकरेन्सी र नेटवर्किङ कारोबार नगर्नू’

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङ नेपालमा गैरकानूनी भएको र यसको प्रकृति नै गैरनियमन भएकाले सचेत रहन आग्रह गरेको छ।

पछिल्लो समय नेपालमा पनि नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएपछि यस्तो आग्रह गरेको हो ।

क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको छ ।

छोटो अवधिमै उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।

मंगलवार यसले गर्दा अर्थव्यवस्था र जनजीवन नै प्रभावित हुने खतरा रहेको निष्कर्ष केन्द्रीय बैंकले निकालेको छ।

खासगरि नेपालजस्ता सीमित पुँजी र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएका मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी पलायन हुनबाट जोगाउनु मुख्य चुनौती रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।

नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहेको समेत केन्द्रिय बैंकले बताएको छ ।

नवीन प्रविधिको सहयोगमा क्रस बोर्डर रूपमा सञ्चालित नेटवर्क मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेसिने जोखिम रहेको समेत बताइएको छ ।

एकातिर स्वदेशबाटै पुँजी पलायन हुन सक्ने र अर्कोतिर विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here