नेपालको लगातार दोस्रो हार, आयरल्याण्डसँग १६ रनले पराजित

काठमाडौं, २ फागुन । चारदेशीय सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको हो ।

नेपाललाई आयरल्याण्डले १२७ रनको लक्ष्य दिएको थियो। आयरल्याण्डले दिएको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए। आशिफ शेख २३ रनमा आउट हुँदा कुशल भुर्तेल १५ रन जोडेका थिए।

लोकेश बमले ६, ज्ञानेन्द्र मल्लले ५ रन संकलन गर्दा शरद भेषवाकर र कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए।

आयरल्याण्डका सिमी सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले २/२ विकेट लिएका थिए।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए। २१ रनको खर्चमा उनले ४ विकेट लिएका थिए।अविनाश बोहराले दुई विकेट लिए।

सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १/१ विकेट लिए।

आजको खेलमा हारसँगै नेपालले ३ खेलमा २ अंक जोडेर अंक तालिकाको पुछारमा पुगेको हो।

आयरल्याण्डले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार युएईसँग २५ रनले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here