काठमाडौं । सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनको लागि कोरोना विरुद्ध खोप लगाएको कार्ड देखाउनै पर्ने वाध्यकारी व्यवस्था गरेको छ ।
विश्वका विभिन्न देशहरूले आफ्नो मुलुकमा भित्रिने व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाएको सुनिश्चित गर्न क्यूआर कोडसहितको खोप कार्ड अनिवार्य छ ।
सरकारले क्यूआर कोडसहितको खोप कार्ड सहज उपलब्ध गराउन अनलाइनमार्फत नै विद्युतीय खोप कार्ड (प्रमाणपत्र) दिने व्यवस्था गरेको छ ।
आफू जाने देशको टिकट लिनुअघि कार्ड लिन पनि सरकारले अनुरोध गरेको छ । यो कार्ड लिन कुनै छाप वा हस्ताक्षर चाहिँदैन ।
यसरी लिनुहोस् अनलाइनबाट
स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न https://vaccine.mohp.gov.np/public-request-form मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।
आवेदनमा परिचय पत्र वा पासपोर्टको फोटो, पासपोर्ट साइज फोटो र खोप कार्डको फोटो अपलोड गर्नुपर्छ ।
त्यसपछि आएको रजिष्ट्रेसन नम्बर सुरक्षित राख्न मन्त्रालयले आग्रह गरेको छ । भने आवेदन प्रमाणिकरण हुन कम्तीमा २४ देखि ४८ घण्टासम्म लाग्ने मन्त्रालयले जनाएको छ ।
यस्तै, https://vaccine.mohp.gov.np/search मा गइ आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी आफ्नो आवेदनको अवस्था बुझ्न सकिन्छ ।
अन्तत: आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरि प्रिन्ट गरेर प्रयोग गर्न सकिन्छ । यदि आवेदन स्वीकृत नभएको खण्डमा पुन सोही फारमलाई सच्याएर पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
कुनै प्राविधिक समस्या आएमा जोन्सन्स एण्ड जोन्सन्सको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य संस्था भएको स्थानिय पालिकाको स्वास्थ्य शाखामा सम्पर्क समेत मन्त्रालयले आग्रह गरेको छ ।
साथै यो प्रमाणपत्र कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक नपर्ने मन्त्रालयले जनाएको छ ।