काठमाडौं, २३ फागुन । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।
साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसीए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो ।
जेएसीएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।
यसैबीच नेवानिले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।
यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ ।
साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।
निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्न थालेको हो ।