तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो

काठमाडौं । किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको छ ।

मंगलवार बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको हो। ९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा थिए।

फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैडाकोट पुगेर उजुरी दर्ता गराएका थिए।

बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइदिनु भन्दै पत्राचार गरेको थियो ।

२०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। तनहुँमा उजुरी गर्ने र गैडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्।

शाहले १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्पर्क गर्नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।

अपराध संहिता २०७४ अनुसार एउटै कसुरमा दोहोरो सजाय नहुने व्यवस्था रहेको छ। तर एकिकृत कसुर वापत थप सजाय हुने व्यवस्था भने गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here