काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन

काठमाडौं, २५ फागुन । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को काम तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको छ।

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन फास्ट ट्रयाक सडक आयोजनाको स्थलगत गरेका छन् ।

उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएको जंगीअड्डाले जनाएको छ ।

निरीक्षणको क्रममा सुरुङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन दिएका छन् ।

निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।

आर्थिक वर्ष २०७४/७५ मा सुुरु भएको द्रुतमार्ग आयोजना विसं २०८१ को पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाण्डौ, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने यो द्रुतमार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर दूरीको छ ।

महादेवडाँडा, धेद्रे र लेनडाँडामा झण्डै ६ दशमलव ३१ किलोमिटर दोहोरो सुरुङ रहने द्रुतमार्गमा ठूला र साना गरी ८७ वटा पुल रहनेछन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर र सडकखण्ड ५५ दशमलव ५ किलोमिटर रहनेछ ।

आयोजनाको कूल लागत एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here