भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीको अन्तिम चरणमा

काठमाडौं, २९ फागुन । सरकारले भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीलाई गति दिएको छ ।
भन्सार कार्यालयहरुमा प्रयोग हुने यो निर्देशिका चाँडै तयार भई कार्यान्वयनमा आउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भन्सार प्रशासनलाई अझ चुस्त र प्रभावकारी बनाउनका लागि प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिए ।

वस्तु आयातमा गरिएको बर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले छलफल र संवादका माध्यमबाटै त्यसको समाधानको सुत्र पहिल्याउन उनले निर्देशन दिए ।

अर्थमन्त्री शर्माका अनुसार अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको हो । यसरी आयातमा गरिएको कडाईले भन्सार अशुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न उनले निर्देशन दिए ।

‘देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म रु. ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईका बाबजुत रु. ३ खर्ब ८ अर्ब राजस्व संकलन भएको बताए । यो गत बर्ष सोही समयको तुलनामा २९ प्रतिशतले बढी हो ।

सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुसी व्यक्त गरे । ‘कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिश नाघेको छ । हामीले माघ मसान्तसम्म १ खर्ब ३१ अर्बको निर्यात गरेका छौं,’ उनले भने ।

प्रत्येक बर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा लम्किनु पर्ने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here