विदेशी बैंक भित्राउन चुक्ता पुँजीमा पुनरावलोकन, पुँजीको सीमा २ करोड डलरमा झारियो

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरुलाई नेपाल ल्याउनका लागि चुक्ता पुँजीमा पुनरावलोकन गरेको छ।

राष्ट्र बैंकले बुधबार ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै चुक्ता पुँजी पुनरावलोकन गरेको हो। बढी चुक्ता पुँजीको सीमा निर्धारण गर्दा विदेशी बैंक नेपालमा नआउने जोखिम बढेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यसअघि नेपाली वाणिज्य बैंक तथा वित्तीय संस्थााहरुको चुक्ता पुँजी वृद्धि गर्दा त्यही अनुसार विदेशी बैंकका लागि पनि पुँजी निर्धारण गरेको थियो।

त्यो नीतिलाई खारेज गर्दै राष्ट्र बैंकले दुई करोड डलर चुक्ता पुँजी हुने ब्यवस्था गरिएको हो। नेपालमा नेपाली लगानीकर्ताले ‘क’ वर्गको बैंक अर्थात् वाणिज्य बैंक खोल्न ८ अर्ब रुपैयाँ चुक्ता पुँजी राख्नु पर्ने व्यवस्था छ ।

त्यसै अनुसार विदेशी बैंक समेत नेपालमा खोल्न झण्डै ८ अर्ब रुपैयाँ नै आवश्यक हुनेगरी निर्णय गर्ने प्रावधान थियो ।

तर, हाल राष्ट्र बैंकले ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै विदेशी बैंक नेपालमा खोल्न चुक्ता पुँजीको सीमा २ करोड डलर अर्थात् झण्डै २ अर्ब ४४ करोड रुपैयाँ भए पुग्ने व्यवस्था गरेको हो ।

नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी आवेदन दिनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here