कुन महिनामा कति किनबेच भयो घरजग्गा ? सबैभन्दा धेरै साउनमा

काठमाडौं, ३ चैत । बैंकहरुमा तरलता अभावका बाबजुद पनि जग्गाको कारोबार बढेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मुख्यगरी संघीय राजधानी काठमाडौं उपत्यकामा मात्रै फस्टाएको घरजग्गा कारोबार अहिले तराईका जिल्लाहरूमा मौलाउँदै गएको छ ।

विभागका अनुसार चालु वर्षको आठ महिना (फागुनसम्म) कुल ५ लाख २७ हजार ९४९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो ।

त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८, माघमा ५९ हजार ५१६ र फागुनमा ७४ हजार घरजग्गा खरिदविक्री भएको थियो ।

विभागका अनुसार जग्गा कारोबारवापत सबैभन्दा बढी राजस्व भने भदौमा उठेको छ । भदौमा ८ अर्ब २६ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सबैभन्दा कम राजस्व कात्तिकमा ५ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ ।

साउनमा ८ अर्ब १३ करोड ४१ लाख, असोजमा ७ अर्ब ३३ करोड २१ लाख, मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख, पुसमा ६ अर्ब ७० करोड ४२ लाख, माघमा ५ अर्ब ५० करोड १८ लाख र फागुनमा ६ अर्ब २६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

चालु वर्षमा सबैभन्दा धेरै घरजग्गा किनबेच संघीय राजधानी काठमाडौंमा भएको छ । फागुन मसान्तसम्म काठमाडौंको डिल्लीबजार, साँखु, चाबहिल, टोखा, कलंकी र मनमैजु गरी कुल ३७ हजार ३३७ घरजग्गा किनबेच भएको हो ।

काठमाडौंपछि तराईका जिल्लाहरूमा धेरै घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । चालु वर्षमा धेरै घरजग्गा किनबेच हुने जिल्लामा मोरङमा दोस्रो स्थानमा रहेको छ ।

यस अवधिमा मोरङका मालपोत कार्यालयमार्फत ३६ हजार ९२४ घरजग्गा किनबेच भएका छन् । जिल्लाको विराटनगर रंगेली, बेलवारी मालपोत कार्यालयबाट उक्त संख्यामा घरजग्गा किनबेच भएका हुन् ।

त्यसैगरी तेस्रो सर्वाधिक घरजग्गा किनबेच सुनसरीमा भएको छ । सात महिनाको अवधिमा जिल्लाको धरान र इनरुवा मालपोत कार्यालबाट २८ हजार ३६७ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।

यसैगरी, झापामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल २८ हजार २११, चितवनको खैरहनी, माडी, चनौली गरेर २० हजार ३३३, जनकपुरको धनुषा मालपोत कार्यालय मार्फत १८ हजार ४८८ घरजग्गा किनबेच भएको छ ।

बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १७ हजार ५५२,बाराको कलैया र सीमराबाट १४ हजार ४२१, ललितपुरको गोटिखेल र लगनखेलबाट १६ हजार ६०८, र भक्तपुरमा १६ हजार ६४२ घरजग्गा किनबेच भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here