‘खतरा अझै टरेको छैन, खलनायक बनेर गणतन्त्रविरोधीहरु संविधान उल्ट्याउन चाहन्छन्’

काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आफूले नायक बनाउन खोजे पनि खलनायक बनेको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ओली प्रधानमन्त्री भएका बेला नायक बनाउन धेरै प्रयत्न गरे पनि आफ्नो कुरा नमानेर खलनायक बनेको बताएका हुन् ।

देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिनेहरु पनि धेरै रहेको उनले दाबी गरे। ‘तपाईँ हामी माओवादी र हिजो शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेस र वामपन्थीहरु एकजुट भएर अघि नबढ्ने हो भने कुनै पनि बेला देशमा दुर्घटना हुनसक्ने खतरा अहिले पनि कायम छ। खतरा अझै टरेको छैन,’ उनले भने।

‘प्रचण्ड’ले प्रतिपक्ष दल एमाले अध्यक्ष गणतन्त्र र परिवर्तनविरोधी भएको बताएका छन्। ‘जतिबेला हामी लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा अघि बढ्दैथियौं, त्यतिबेला यो देशमा अहिलेका ठूला भन्ठान्ने केही नेताहरु नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरु गाडा चढेर अमेरिका जाने एउटै कुरा हो भन्थे।

ती मान्छे अहिले पनि जिउँदै छन। ती मान्छेहरु अहिले पनि गणतन्त्रविरोधी नै छन्। अहिले पनि गोरु गाडाकै सिद्धान्तमा छन्।’

‘समावेशी र समानुपातिकता, देशका दलित, महिला, आदिवासी, मधेसी, जनजाति, उत्पीडित, महिलाले मौलिक अधिकार पाएको राज्यमा प्रतिनिधित्व भएको तिनीहरुलाई पचेको छैन। तिनीहरु यो संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन्,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here