यी हुन् बक्यौता चुक्ता नगर्ने सात वायुसेवा कम्पनी, तत्काल नतिरे कालोसूचीमा राखेर कारबाही

काठमाडौं, ६ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवा कम्पनीलाई तत्काल बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको छ।

प्राधिकरणले आइतवार एक सूचना जारी गर्दै तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो

बक्यौता नतिर्नेमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डप रहेको सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।

प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न आउन भनिएको छ।

यदि बक्यौता तिर्न नआए कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकहरूको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी दिइएको छ।

क्यानले नेकोन, शिवानी, गोरखा, माउण्टेन एयर, कस्मिक, स्काईलाइन र एयर काष्ठमण्डपलाई ९ करोड १७ लाख रुपैयाँ बुझाउन भनेको छ।

क्यानका अनुसार नेकोनका सञ्चालकहरु दीपमणि राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार ३५३ रुपैयाँ बुझाउन बाँकी छ।

साथै, शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा, उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ बुझाउन बाँकी छ।

क्यानका अनुसार माउण्टेन एयरका सञ्चालकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्रबहादुर बस्नेतले ६ लाख १० हजार ८३४ रुपैयाँ र कस्मिक एयरका सञ्चालक क्याप्टेन रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बुझाउन बाँकी छ।

साथै, स्काइलाइन एयरवेजका सञ्चालकहरु आङ छिरिङ शेर्पा, मिङ्मा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार ४०० रुपैयाँ बुझाउन बाँकी छ।

त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार ४४७ रुपैयाँ बुझाउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here