एल क्लासिको भिडन्तमा बार्सिलोनाको ऐतिहासिक जित

काठमाडौं, ७ चैत । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनाले ऐतिहासिक जित दर्ता गरेको छ । आइतवार राती भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै मैदानमा ४–० ले पराजित गरेको हो ।

खेलको २९औँ मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३८औँ मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २–० ले पछि रह्यो ।

४७औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१औँ मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को शानदार जित दिलाए ।

यसअघिका पाँच एल क्लासिकोमा विजयी भएको रियल मड्रिड आइतबार राति भएको खेलमा भने फराकिलो गोल अन्तरले पराजित भयो । बार्सिलोना पछिल्लो १२ खेलमा अपराजित रहेको छ ।

पराजित भएर पनि रियल मड्रिड २९ खेलबाट ६६ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ५४ अंक भएको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको २९ खेलबाट ५७ अंक छ ।

आइतबारका अन्य खेलमा सेभियाले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्यो भने रियल बेटिस र सेल्टा भिगोबीचको खेल पनि गोलरहित बराबरीमा टुंगियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here