‘भरतपुर काण्ड नदोहोरिए छिटफुटबाहेक सबै स्थानीय, प्रदेशमा एमालेको सरकार बन्छ’

काठमाडौं, ७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँच दलीय सत्ता गठबन्धनबीच साँठगाठ भएको आरोप लगाएका छन्।

एमाले अध्यक्ष ओली बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो पार्टी विभाजन गर्न सभामुखले र निर्वाचन आयोग पनि लागेको प्रष्ट देखियो।

अरूको चाहिँ व्यक्ति गरेको कारवाही सभामुखले सूचना टाँसेको छ। हाम्रो केन्द्रित कमिटीको निर्णयलाई चाहिँ सभामुखले लम्ब्याउने र उतातिर निर्वाचन आयोगको दल दर्ताको हतारो।’

आयोगले आशन्न स्थानीय चुनावबारे सबै दलहरूसँग परामर्श नगरेकोमा पनि ओलीले असन्तुष्टि पोखे।

आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको ओलीको भनाइ छ। मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्ता गठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको उनले बताए।

ओलीले भने, ‘आयोगले दलहरूसँग परामर्श गरेको छैन। मतपत्रको रङ बदल्दा सत्ता गठबन्धनसँग छुट्टै छलफल भएको छ। भित्रभित्रै रङ बदलेर हरियो रूख किन राख्नुपर्थ्यो? सकेदेखि अरू पनि हरियो बनाउन पर्थ्यो। सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त।’

सरकारले आयोगसँग छलफल गरेर मतपत्रमा हुने चिन्हको रङ हरियो बनाएको दाबी ओलीले गरे। यसपालिको चुनावमा मतपेटिका आफूहरूकै वरपर हुनुपर्ने ओलीले बताए। ‘यसपल्ट मतपेटिका हाम्रो आँखाबाट पर हुनु हुँदैन। हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ।

मत गनेर नसकिँदासम्म मतपेटिका छोड्ने होइन। पहिले सुनसरी–३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ,’ ओलीले भने। आगामी स्थानीय निर्वाचनमा पनि भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका छ ।

ओलीले सबै स्थानीय, प्रदेश र केन्द्रको सरकार एमालेले नै बनाउने दाबी गरे ।

‘चुनावपछि एमालेले तीनै तहका सरकार बनाउछ। तर स्थानीय तहमा भने छिटपुट ठाउँमा आफूहरूको सरकार बन्न सक्दैन । तर हामी जिम्मेवार भएर लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भने ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले कलात्मक ढंगले स्थानीय तहको निर्वाचन सार्न खोजेको पनि आरोप लगाएका छन् ।

‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने ।

निर्वाचन आयोगका आयुक्तहरुलाई भन्न लागाएर निर्वाचन सार्ने प्रयास भइरहेको अध्यक्ष ओलीको दाबी छ । दुई आयुक्तहलाई भन्न लगाएर भएपनि सार्न खोजिएको भन्दै उनले भने, ‘दुई आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन्। जो गठबन्धनका दलहरुले भनिरहेको छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here