पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता

काठमाडौं । पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

यसअघि उनीविरुद्ध पूर्वी नवलपरासीमा सोही अभियोगमा मुद्दा दर्ता भएको थियो।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

यस्तै, शाहका म्यानेजर कृष्ण जोशीलाई भने पललाई मागिएको सजायको आधा सजाय माग गरिएको छ।

यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको थियो। नवलपुरमा पनि १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको थियो। १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको अभियोगपत्रमा उल्लेख थियो।

१८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्बन्ध राख्नुलाई प्रचलित कानुनले करणी मानेको छ। घटना भएको समयमा किशोरीको उमेर १५ वर्ष ८ महिना ४ दिन भएको अनुसन्धानमा देखिएको छ।

किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here