इटालीको कतार विश्वकप यात्रा टुंगियो, पोर्चुगल र वेल्सको सम्भावना कायमै

काठमाडौं । युरोपियन च्याम्पियन इटालीको कतार विश्वकप यात्रा टुंगिएको छ ।

बिहीबार राति पालेर्मोमा सम्पन्न युरोपियन छनोटको प्लेअफ सेमिफाइनलमा अप्रत्यासित रुपमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटालीको कतार विश्वकप यात्रा टुंगिएको हो ।

इटालीले विपक्षी पोष्टमा ३२ प्रहार गरेको थियो भने नर्थ म्यासेडोनियाले मात्र चार प्रहार गरेको थियो ।

पाँच मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्जान्डर त्राजकोभस्कीले गरेको गोल नर्थ म्यासेडोनियाका लागि निर्णायक बन्यो । त्यही गोल इटालीको कतार यात्रामा तगारो बन्यो ।

इन्जुरी समयको गोलको ‘सेलिब्रेसन’ मेसेडोनियाका खेलाडीले गरिरहँदा इटालीका खेलाडीहरु भने घरेलु मैदानमै निराश देखिए । इटाली लगातार दोस्रोपटक विश्वकपमा छनौट हुन नसकेको हो ।

सन् २०१८ को विश्वकपमा पनि उसले स्थान बनाएको थिएन । ८ महिना पहिले इंग्ल्याण्डलाई पराजित गरेर युरोपियन विजेता बनेको इटाली कतारमा हुने विश्वकपका लागि भने छनौट हुन सकेन ।

इटालीलाई पराजित गरेको उत्तरी मेसेडोनियाले प्ले अफ फाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने छ ।

पोर्चुगल र वेल्सले विश्वकप यात्राको सम्भावना कायम राखेका छन् । कतारमा यो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत बिहीबार राति भएको प्ले अफ खेलमा पोर्चुगल र वेल्स विजयी भएका हुन् ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले टर्कीमाथि ३–१ को जित दर्ता गरेको हो । पोर्चुगलका लागि ओताभिओ, जोटा र नुनेसले गोल गरे । टर्कीका लागि बुराक यिल्माजले एक गोल फर्काए । उनले त्यसपछि ८५ औँ मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here