रोहितको रेकर्ड नै रेकर्ड बनेको खेलमा नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित

काठमाडौं, ११ चैत । रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको हो ।

नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । पीएनजीसँग नेपालको यो पहिलो हार हो । यसअघि भएका चार ओडीआई सबै नेपालले जितेको थियो।

नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो ।

नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन । आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।

पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नाेर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

आजकाे खेलमा राेहित पाैडेलले तीन वटा कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

रोहित ओडीआईमा ज्ञानेन्द्र मल्लसँगै सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन्। दुवैले चार चार अर्धशतक बनाएका छन्।

यसअघि रोहितले आजकै खेलबाट ओडीआईमा ५०० रन पनि पूरा गरे। उनी ५०० रनको कोशेढुंगा भेटाउने उनी पहिलो क्रिकेटर बनेका छन्।

पीएनजीविरुद्ध ३८ रन बनाउँदा उनले ५०० रन पूरा गरेका हुन्। असद भालाको स्पिनमा चौका प्रहार गर्दै उनले ५०० रन पूरा गरेका थिए। उनले १६औँ ओडीआईमा यो उपलब्धि हासिल गरे।

ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here