विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

काठमाडौं, १२ चैत । फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ ।

घरेलु टोली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक-एक गोल गरे ।

स्टेडियो अल्बर्टो जे अर्मान्डोमा खेलको ३४ औं मिनेटमा रोड्रिगो डी पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा एन्जल डी मारियाले घरेलु टोलीको अग्रता दोब्बर पारे । उनले पनि डी पउलकै पासलाई सदुपयोग गरे ।

८२ औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।

दक्षिण अमेरिकी छनोटबाट चार राष्ट्रले सोझै विश्वकपमा स्थान बनाउनेछन् । जसमध्ये ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरूग्वेले कतार विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

पाँचौ स्थानको टोलीले प्लेअफ छनोट खेल्नुपर्नेछ । जसमा पेरू, कोलम्बिया र चिली दाबेदार छन् ।

जितसँगै आफ्नो अपराजित यात्रालाई कायम राख्दै १६ खेलमा ३८ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा पराजित भेनेजुएला १७ खेलबाट १० अंकका साथ अन्तिममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here