त्रिदेशीय शृंखला: लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करन केसीको ह्याट्रिक

काठमाडौं, १७ चैत । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट नेपालले लगातार तेस्रो जित निकालेको छ। करण केसीको ह्याट्रिकले नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो।

लगातार तेस्रो जित निकाल्दै घरेलु टिम नेपाल टी-२० अन्तर्राष्ट्रिय सिरिजमा फाइनल प्रवेश गरेको छ। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो।

टस हारेर ब्याटिङ्‌को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो।

नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो।

पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करण केसीले ३.४ ओभर बलिङ् गर्दै ५ विकेट लिए। त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २/२ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १ विकेट लिए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै राेहित पाैडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए ।

यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए ।

बलिङतर्फ पीएनजीका कबुआ माेरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नाेरमन भानुआ र नाेसइना पाेकनाले एक/एक विकेट लिए ।

अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा पराजित भए पनि नेपालको फाइनलमा स्थान पक्का छ। फाइनल आगामी सोमबार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here